बेलायतका प्रधानमन्त्री भन्छन्: ‘कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक’...

image
शनिबार, माघ १० २०७७

माघ,१० काठमाडौं ।  बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको बताएका छन् ।पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको बताइरहेका बेला प्रधानमन्त्री जोनसनले उक्त कुराले धेरैलाई चिन्तित बनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री जोनसनले भन्छन् यो भाइरस पहिलेको भन्दा धेरै नै खतरा छ त्यसैले सबै नागरिकले पहिलेको भन्दा पनि अझ बढी सुरक्षा मापदण्डहरु अपनाउनुपर्ने हुन्छ ।

शुक्रबार डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले उक्त कुरा बताएका हुन् । जोनसनले यो भाइरस पहिलो पटक गत महिना मात्र इंगल्याण्डको केन्टमा देखिएको बताए ।पत्रकार सम्मेलनमा उनले नयाँ प्रजातिको भाइरस पुरानो भन्दा कम्तीमा पनि ७० प्रतिशत बढी मात्रामा सक्रमण फैलिने खालको रहेको बताएका छन् ।

पछिल्लो समयमा निकै संक्रामक बन्दै गएको बेलायतमा कोरोना भाइरसको सक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।त्यहीँबाट शुरु भएको भनिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको बताइएको छ ।

विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस गत हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको बताएको छ ।

बेलायतको स्वास्थ्य मन्त्रालयका अधिकारीले पनि यो संक्रमण पुरानो भन्दा खतरनाक भएको प्रमाण मिलेको बताएका छन् ।पछिल्लो समयमा यो संक्रमण युरोपकै कैयौँ सहरमा पुगिसकेका पाइएको छ । यसका कारण ती देशमा थप सतर्कता अपनाउने गरिएको छ ।तर ती देशमा हाल खोप पनि दिन थालिएकोले नागरिकमा आशा पलाएको भने बताइएको छ ।

युरोपेली युनियनले आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने कुरा हालैमात्र जानकारी गराएको छ ।प्रधानमन्त्री जोनसनले यहाँका कम्तीमा पनि ३८ हजार नागरिक सङ्क्रमित भएर अस्पतालमा रहेका छन् ।