भारतले अनुदानमा दिएको १० लाख डोज खोप पाएको सरकार मख्ख...

image
आइतबार​, माघ १८ २०७७

माघ,१८ काठमाडौं । भारतले अनुदानमा दिएको १० लाख डोज खोप पाएको सरकार मख्ख छ । ४ लाखलाई पुग्ने खोप पहिलो चरणमा फ्रन्टलाइनमा रहेर काम गर्नेहरुलाई दिने काम भइरहेको छ । खोप अभियानको सुरुवातमा प्रधानमन्त्री ओलीले पनि हौसिएर तीन महिनामा सबै नेपाललीले खोप पाउने बताइदिए । तर त्यसको केही दिनमा उनले आफ्नै बोलीको खण्डन पनि गरे । शनिबार भने सन २०२१ भित्रै सबै नेपालीलाई खोप लगाइने बताए ।

चीन र बेलायतले पनि सीमित संख्यामा डोज दिने भनेका छन् । अहिलेसम्म १० लाख डोज भारतबाट आएको छ, थप १० लाख दिने भनेको छ । भारतबाट कुल २० लाख डोज प्राप्त भएमा त्यसले नौ लाख ६० हजारलाई खोप लगाउन मिल्नेछ ।

अर्को छिमेकी चीनले पनि करिब तीन लाख डोज खोप दिने तयारी गरेको छ । तीन लाख खोपले करिब डेढ लाख नेपालीलाई खोप लगाउन मिल्नेछ । तर, खरिद गर्ने विषयमा भने अहिलेसम्म कुनै ठोस प्रगति भएको छैन ।

छिमेकी मसलुकमा धमाधम खोप लगाउने कार्य भइरहेको छ । अर्थात कोरोना महामारीको जोखिम कम भएको छैन । भाइरसको जोखिम कम भएको छैन । स्वास्थ्य मन्त्रालय र जनस्वास्थ्यविद्हरुले पनि जोखिम कायमै रहेको बताइरहेको छन् । यसबैचमा भित्रिएको नयाँ भाइरसले थप चिन्ता पनि थपिदिएको छ ।

सडकमा रमिता, कोरोना चैट !

नेपालमा अहिले विश्वमा विरलै हुने राजनीतिक अभ्यास भइरहेको छ । कानुनी रुपमा एउटै रहेको दल दुइ चिरामा विभाजित छ । सत्तामा पनि उही, सडकमा पनि उसैको रमिता । अर्थात सडक र सत्ता कम्युनिष्टको कब्जामा छ । प्रतिनिधि सभा विघटनपछि अन्य दलहरु पनि आन्दोलित भएका छन् ।

अर्थात दैनिक सभा, सम्मेलन र जुलुस भइरहेको छन् । यसको नेतृत्व नेकपाले गरेको छ । एउटा समूहले सरकारको विरोधमा जुलुस र सभा गरिरहेको छ भने अर्कोले काउन्टर दिन सभा गरिरहेको छ । दुबै समूहले सडकमा मान्छे देखाउने प्रतिस्पर्धा नै गरिरहेका छन् । उनीहरूका लागि कोरोना चैट भइसक्यो । अब जोखिम छैन ।

तर अवस्था भने ठीक उल्टो छ । विज्ञहरुले खोप लगाइ सके पनि सुरक्षा मापदण्ड अपनाइरहनु पर्ने बताइरहेको छन् । जनतालाई मापदण्ड पालना गराउनु पर्ने सरकार उल्लंघनमा व्यस्त छ । अधिक मान्छे जम्मा पारेर काउन्टर दिन ठीक्क छ सरकारलाई । सत्तारुढ दलकै इतर पक्ष पनि मान्छे जम्मा गरेर शक्ति देखाइरहेको छ ।

विश्वको इतिहासमा कोरोना महामारी लामो समय अस्तित्वमा रहेको सरुवा रोगमध्ये एक हो । कोरोना भाइरस ‘अप एन्ड डाउन’ प्रकृतिको छ । यसको असर व्यक्तिको शारीरिक संरचना र मानसिक स्थितिका आधारमा पनि निर्धारण हुन्छ ।

नेपालमा कोरोना संक्रमणको जोखिम केही मत्थर देखिए पनि पूरै निर्मूल भने भएको छैन । डररहित भएर हिँडडुल गर्ने अवस्था भने अझै बनिसकेको छैन । यस्तो बेलामा सडकमा आउने, सभासमारोह गर्ने, कार्यकर्ता जम्मा गर्ने, भेला गर्ने लगायतका काम भइरहेका छन् । यदि उक्त भाइरस फैलिएको अवस्थामा झन ठूलो समस्या आउन सक्छ।