अनलाईन कक्षा ‘अवसर’, ‘बाध्यता’ कि ‘चुनौती’ ??

image
बुधबार, श्रावण १३ २०७८

“सर, मेरो बाबु त मोबाइल छुटाउ’नै मान्दैन, जति खेर पनि मोबाइल चला’को चलाइ गर्छ, भनेको पनि पटक्कै मान्दैन, केही भन्यो कि रिसाइहाल्छ ।” एक कक्षामा पढ्ने एक अभिभावकले भन्नुभयो ।

कोरोनाले तहल्का मच्चाएको पनि झन्डै अढाई बर्ष भइसक्यो । लाखौंको ज्यान लिइसकेको छ । धेरै जनाको रोजीरोटि नै गुमेको छ । अझै भनुँ  भने, लाखौं बालबालिकाहरूको विद्यालय गएर पढ्ने, साथीहरूसँग रमाइलो गर्ने, हाँस्ने, खेल्ने, रमाउने अधिकारनै गुमेको छ । आज धेरै विद्यार्थीहरू मोबाइलको सानो स्क्रिन हेरेर घण्टौं सम्म बस्नु पर्ने बाध्यता छ । कतिपय निजी र सहरी तथा स्रोतसाधनको पहुँच भएका क्षेत्रहरूमा यसरी नै चलिरहेको छ जेनतेन, तर जहाँ ईन्टरनेट, बत्तिको सुविधा छैन, डाटा खोज्न डाँडामाथि चढ्नुपर्ने अवस्था भएका ठाउँहरूमा कहाँको अनलाइन क्लास !!  

यसरी लामो समयसम्म विद्यार्थीहरू अध्ययनविहिन हुँदा भोलीको दिनमा देशका कर्णधार मानिएका उनीहरुको अवस्था कस्तो होला ? यस्तो अवस्था कहिले सम्म हो, खै ?

अहिले धरै जसो विद्यालयहरूले जूम, गुगल मिट तथा अन्य शैक्षिक एप्सको माध्यमबाट अध्यापन गराइरहेका छन् ।

अनलाईन कक्षा चलिरहेका विद्यालयहरुमा पनि, त्यहि ‘अड्को पड्को तेलको धुप’ भने जस्तै भइरहेको छ । बारम्बार हुने नेटको समस्या, कहिले बिजुलीको समस्या, उपयुक्त साधनको अभाव जस्ता कुराहरू अनलाईन कक्षाका चुनौतिहरू नै हुन् । अनलाईन कक्षालाई लिएर सामाजिक सञ्जालमा धेरै ट्रोलहरू पनि भाइरल नभएका होइनन् ।  

सम्पन्न अभिभावहरूका लागि आफ्ना छोराछोरीको पढाईका लागि जति पनि खर्चिन सक्छन् तर कतिपय अभिभावकहरूका लागि अनलाईन कक्षाका लागि नै भनेर साधन जुटाउनको जोहो गर्नु परेको छ, भने कतिका लागि यहि साधनहरू जुटाउन नसक्दा छोराछोरीहरूलाई पढाईदेखि वञ्चित गराउनु परेको छ ।

तर यी कुराहरूलाई व्यवस्थित गराउनु सकेमा अनलाईन कक्षा निकै प्रभावकारी हुने बेर्शेवा नेशनल सेकेन्डरी, काठमाण्डौका एक शिक्षकले बताउनुभयो ।

यसरी लामोसमय सम्म मोबाइलको प्रयोग गरिरहँदा त्यसको प्रत्यक्ष प्रभाव विद्यार्थीहरूमाथि परेको छ । मोबाइलको स्क्रिन हेरीरहँदा आँखाको  समस्या हुने, टाउको दुख्ने, मानसिक समस्याका साथै ईन्टरनेटको गलत प्रयोग (मिसयुज) हुन सक्ने जस्तैः अश्लिल फोटो, भिडियो हेर्ने, भिडियो गेम खेल्ने, अनावश्यक च्याट गर्ने जस्ता मात्र नभएर साईबर क्राईम समेत हुन सक्ने प्रवल सम्भावना रहन्छ ।

तसर्थ, आफ्ना छोरा – छोरीहरूले के गर्दैछन्, के कुरा हेर्दैछन्, कस्तो व्यवहार देखाउँदैछन्, भन्ने कुराहरूको प्रत्यक्ष्य निगरानी प्रत्येक अभिभावकले  गर्नु आवश्यक छ । कतै, हेर्दाहेर्दै हाम्रा छोरा – छोरीहरू ‘डिजिटल अडिक्सन’ र ‘डिप्रेशन’को डरलाग्दो सिकार त बनिरहेका छैनन् ?

त्यसैले, यस समयमा झन बढी हाम्रा छोरा – छोरीहरूसँग समय बिताउने, खेल्ने, रमाईलो गर्ने, हँसाउने, आत्ध्यात्मिक कुराहरू सिकाउने, चित्र बनाउने, कथा, कविताहरू तथा अन्य जानकारीमूलक पुस्तकहरू पढ्न उत्साहित गराउने, गित संगीत सिक्ने सिकाउने, किचनको काम, करेसाबारीको काम गर्न सिकाउने, फूलमा पानी हाल्ने जस्ता कामहरूमा व्यस्त बनाउनु पर्दछ ।

नत्र, कतै हाम्रा अमूल्य सन्तानहरूले बाटो त बिराउँदै छैनन् ???

  • सियोन मगर