नेशनल प्याब्सन काठमाडौंको आयोजना र नेशनल प्याब्सन नागार्जुनको समन्वयमा आजदेखि २ दिने कविता लेखन तथा वाचन कार्यशाला गोष्ठी शुरू

image
शुक्रबार​, भाद्र ११ २०७८

काठमाडौं - नेशनल प्याब्सन काठमाडौंको आयोजना र नेशनल प्याब्सन नागार्जुन काठमाडौंको संयोजनमा शुक्रबार देखि २ दिने नवौं काठमाडौं जिल्ला व्यापी कविता लेखन तथा वाचन कार्यशाला गोष्ठी भर्चुअल माध्यमबाट सुरू भएको छ । मोती जयन्तीको अवसर पारेर नेशनल प्याब्सन नागार्जुनद्वारा काठमाडौं जिल्लाभरीका करिब ८० विद्यालयका  विद्यार्थीहरूलाई कविता लेखन तथा वाचन कार्यशाला गोष्ठीको आयोजना गरिएको हो ।

नेशनल प्याब्सन नागार्जुनका सचिव चन्द्र क्षेत्रीले संचालन गर्नुभएको कार्यक्रममा विद्यालय, विद्यार्थी र शिक्षक त्रिकोणात्मक रूपमा मिल्यो भने विद्यामा कसैले कहिले हार नखाने र भाषा, ज्ञान र शिष्टाचार सबैमा हुनुपर्ने नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रमका प्रमुख अतिथि डा. जगमान गुरूङले बताउनुभयो । गोष्ठीमा कविता लेखन तथा वाचन नेपाल प्रज्ञा प्रतिष्ठानका साहित्य विभाग प्रमुख तथा गोष्ठीका प्रमुख प्रशिक्षक देवी नेपाल र प्रशिक्षक सरोज घिमिरेले विद्यार्थीहरूलाई भाषा, कविता लेखन र वाचनको बारेमा प्रशिक्षण गर्नुभएको हो । भोलि शुक्रवार विद्यार्थीहरूको कविता लेखन र वाचन हुनेछ, साथै उत्कृष्ट १० कविता सर्जकलाई पुरस्कृत गरि कविता संग्रहमा प्रकाशित गरिनेछ ।

कार्यक्रममा नेशनल प्याब्सन नागार्जुनका सह-सचिव खिवराज शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने नेशनल प्याब्सन नागार्जुनका अध्यक्ष शिवराम गिरीले सभापतिको आशन ग्रहण गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि नेशनल प्याब्सन केन्द्रीय अध्यक्ष  ऋतुराज सापकोटा, नेशनल प्याब्सन जिल्ला अध्यक्ष खड्क बस्नेत, नेशनल प्याब्सन बाग्मती प्रदेश अध्यक्ष प्रमोद रिजाल, काठमाडौं कलेज अफ सेन्टर स्टेटका निर्देशक टंक गैरे, काठमाडौं कलेजका प्रिन्सिपल पेसल लुईटेल लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रम काष्ठमण्डप कलेज र काठमाडौं कलेज अफ सेन्टर स्टेटले प्रायोजन  गरेको हो ।

- इरोज लामा