मंसिर,१९ सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आगामी सिनेट काठमाडौंमा बस्ने भएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपीशर्मा ओली सुर्खेत आउन नसक्ने भएपछि काठमाडौंमै सिनेट बस्ने भएको हो ।यही मंसिर ३० गते काठमाडौंमै सिनेट बस्ने गरी सम्पुर्ण तयारी सकिएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिए । ‘सिनेटका लागि सम्पूर्ण तयारी सकिएको छ,’ उपकुलपति सिंहले भने, ‘कुलपतिको कार्य व्यस्तता र कोरोनाको विशेष परिस्थितिले गर्दा आगामी सिनेट काठमाडौंमै गर्न लागेका छौं ।’
विश्वविद्यालय भएकै ठाउँमा सिनेट गर्नुपर्ने भए पनि समय अनुकुल नहुँदा यो पटक काठमाडौंमै सिनेट गर्न लागिएको उपकुलपति सिंहले बताए । ‘विश्वविद्यालय भएकै ठाउँमा सिनेट हुनुपर्छ तर यो वर्ष समय अनुकुल भएन,’ उपकुलपति सिंहले भन ।
सिनेटमा विश्वविद्यालय सम्पतिको रक्षा गर्नेदेखि आधुनिक विश्वविद्यालय बनाउने सम्माका एजेण्डाहरु तए गरिएको उपकुलपति सिंहले बताए । विश्वविद्यालयभित्र हिजोका विकृतिलाई कानुनत: सुधारेर लिइने बताइएको छ ।
उपकुलपति सिंहका अनुसार शैक्षिक र प्रशासनिक सुधार गरिनुका साथै विश्वविद्यालयमा यो वर्षबाट नयाँ शैक्षिक कार्यक्रमहरु पनि थप गरिने छ ।
कृषि तथा वन संकाय, मेडिकल साइन्स संकाय, अनुसन्धान विकास केन्द्र र ज्ञान सिप तथा प्रविधि सम्बन्धी कर्णाली शैक्षिक संस्थालगायतका शैक्षिक कार्यक्रम सुरु गर्न लागिएको छ । ती कार्यक्रमबारे पनि सिनेटमा छलफल गरिने छ ।
आफ्नै ‘सुरक्षा इकाइ’ बनाउँदै
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नै ‘सुरक्षा इकाइ’ बनाउने तयारी थालेको छ । विश्वविद्यालयको आन्तरिक सुरक्षा रेखदेखका लागि आफ्नै ‘सुरक्षा इकाइ’ बनाउन लगिएको उपकुलपति सिंहले जानकारी दिए ।
‘विश्वविद्यालयको आन्तरिक सुरक्षा र भौतिक सम्पत्तिको रक्षा गर्न ‘सुरक्षा इकाइ’ आवश्यक छ । आगामी सिनेटमा ‘सुरक्षा इकाइ’ गठनको प्रस्ताव पनि पेस गर्ने तयारी गरेका छौं,’ सिंहले भने ।
‘सुरक्षा इकाइ’मा सैन्य तालिम प्राप्त र ५० वर्ष उमेरमुनिका जनशक्तिलाई मात्रै प्रवेश गराइनेछ । पूर्व नेपाल आर्मी, नेपाल प्रहरी, भारतीय सेना वा जुनसुकै देशमा मान्यता प्राप्त सुरक्षा संगठनमा काम गरेका र युवा जनशक्तिलाई ‘सुरक्षा इकाइमा भर्ना गरिने विश्वविद्यालयले जनाएको छ ।
त्यस्तै १८ वर्षदेखि ५० वर्ष उमेर समूहका तर मान्यताप्राप्त संस्थाबाट सुरक्षा तालिम लिएका व्यक्तिले पनि ‘सुरक्षा इकाइ’मा प्रवेश पाउनेछन् । ‘सुरक्षा इकाइ’को आफ्नै पोसाक हुनेछ ।
विश्वविद्यालयमा अहिले पनि काम गरिरहेका पाले र कार्यालय सहयोगीहरु छन् । तर, ती जनशक्ति विश्वविद्यालयले नियुक्त गरेका नभइ क्याम्पस तथा दोस्रो निकायले करार सम्झौता गरेका हुन् । सुरुमा १५ देखि २० जनाको ‘सुरक्षा इकाइ’ बनाइइने विश्वविद्यालयले जनाएको छ ।