पुस,२ काठमाडौं । नेपालमा वितेको २४ घन्टामा ७७३ जनामा कोरोना संक्रमण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिँउसो सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर रहेका ६९ प्रयोगशालामा ६ हजार ५८८ जनाको नमूना परिक्षण गर्दा ४६८ पुरुष र ३०८ महिलासहित ७७६ जनामा कोरोना संक्रमण पाइएको हो ।
योसहित नेपालमा कूल संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ । जसमध्ये २ लाख ४० हजार ३६३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा ९४७ जना कोरोनामुक्त भएको मन्त्रालयले उपलव्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ ।
अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७४९ पुगेको छ । वितेको २४ घन्टामा ६ जनाको निधन भएको हो । ज्यान गुमाउनेको संख्या लगातार दोहोरो अंक (१० वा सो भन्दा माथी) मा आइरहेको समयमा आज भने ज्यान गुमाउनेको संख्यामा कमि आएको छ ।
तथ्यांकलाई विश्लेषण गर्दा ९५ दशमलव ५० प्रतिशत संक्रमितहरु निको भएका छन् भने शून्य दशमलव ६९ प्रतिशत संक्रमितले ज्यान गुमाएका छन् ।
आज भेटिएका संक्रमितमध्ये काठमाडौं उपत्यका तीन जिल्लामा २११ पुरुष र १५२ महिला गरी कूल ३६३ जनामा संक्रमण पाइएको मन्त्रालयले जनाएको छ ।