कोरोनाको उपचारमा खटिएका २ डाक्टरको कोरोनाबाटै निधन......

image
सोमबार, मङ्सिर १ २०७७

मंसिर,१ काठमाडौं । भाइटीकाकै दिन कोरोना संक्रमणका कारण दुई जना डाक्टरको ज्यान गएको छ ।विरामीको उपचार गर्दागर्दै कोरोना संक्रमण भएका बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा सुनिल झा र डा. नारायण बहादुर थापाको निधन भएको हो ।

झा त्रिभुवन विश्वविद्यालय अध्ययन संस्थानका प्राध्यापक एवम् बरिष्ठ मुटुरोग विशेषज्ञ हुन भने थापा नेपाल बर्न सोसाइटी तथा इसान अस्पतालका हुन ।

प्रा.डा झाको आज विहान मृत्यु भएका हो भने थापाको गयराती मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मनमोहन कार्डियोथोरासिस एण्ड ट्रन्सप्लान्ट सेन्टरमा कार्यरत डा. झालाई सबै खालका उपचार गर्दा पनि सुधार हुन नसकेको चिकित्सकहरुले बताएका थिए।

तीन सातादेखि उनी भेन्टिलेटरमै थिए। मधुमेह र पार्किन्सन्स रोगका बिरामी डा. झालाई सुरुमा नर्भिक अस्पताल लगिएकोमा असोज अन्तिम साता त्रिवि शिक्षण अस्पताल लगिएको थियो।रेमडिसिभिर, प्लाज्माथेरापीले पनि सुधार नआएको चिकित्सकहरुको भनाई छ।

कार्तिक महिनामा उनलाई कोरोना संक्रमण देखिएको थियो। झाको फोक्सोमा निमोनियाका दाग देखिइरहेको चिकित्सकहरुले बताएका थिए। मधुमेह भएका कारण लामो समयदेखि अस्पताल आइनरहेका डा. झाको परिवारका अन्य केही सदस्यमा समेत कोरोना संक्रमण देखिएको थियो।

मन्त्रालयकाका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तीमा उनीहरुको निधनले देशलाई ठूलो क्षति पुग्न गएको उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ “उहाँहरुको निधनबाट देशलाई ठूलो क्षति पुग्न गई सबै नेपालीलाई मर्माहित बनाएको छ । यस दु:खद् घडीमा मृतात्माको चीर शान्तिको कामना गर्दै शोक संतप्त परिवार र आपन्तजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछौं ।”