असोज, २१ काठमाडौं ।भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे ६७ लाखभन्दा बढी पुगेको छ ।सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ६७ लाख ५७ हजार १ सय ३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।कुल सङ्क्रमित मध्ये ७२ हजार १ सय ६ जना पछिल्लो २४ घण्टामा थपिएको पनि अधिकारीहरुले जनाएका छन् ।
त्यसैगरी कुल सङ्क्रमित मध्ये ५७ लाख ४४ हजार ६ सय ९३ जना सङ्क्रमणमुक्त भइसकेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको दर ८५.०२ प्रतिशत रहेको छ ।
भारतमा कोरोनाका कारण अहिलेसम्म १ लाख ४ हजार ५ सय ९१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ती मध्ये ९ सय ९१ जनाको पछिल्लो २४ घण्टामा निधन भएको छ ।भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु मध्ये १.५५ प्रतिशतको मात्रै मृत्यु भएको पाइएको छ ।
भारतमा अहिले पनि ९ लाख ८ हजार ३ सय ३५ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् ।प्रदेश अनुसार हेर्दा भारतको महाराष्ट्र प्रदेशमा सबैभन्दा धेरै सङ्क्रमितहरु रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्।भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा अहिलेसम्म ८ करोड २२ लाख ७१ हजार ६ सय ५४ जनाको कोरोना परीक्षण गरिएको छ ।