असोज,७ कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका भलवाडको कजवे पुलमा आएको बाढीले जीप र मोटरसाइकल बगाएको छ । विद्युत प्राधिकरण तौलिहवाको जीप कजवेमा आएको बाढीले बगाएको हो ।
जीपमा विद्युत कार्यलयका कर्मचारी ४ जना सवार रहेको कार्यलय प्रमुख जयकुमार यादवले बताए। उनिहरु मध्ये २ जना पौडिएर बाहिर निस्कन सफल भएका छन् भने अन्य २ जनाको बारेमा केही जानकारी अहिलेसम्म प्राप्त नभएको कार्यलयले जनाएको छ । विद्युत मर्मत सम्भारका लागि फिल्डमा खटिएका कर्मचारी सवार जीप बाढीले बगाएको हो ।यसको विस्तृत विवरण आउन बाकी छ।
यस्तै भलवाड देखि बनगाई बुटवल जाने यातायातका साधन तथा कार्यालय जाने कर्मचारीहरु बाढीको कारण घण्टौसम्म रोकिनु परेको छ ।आज कजवे तर्ने क्रममा देबिराम पोखरेलको लु १२ प ३५०३ नम्बरको होण्डा बाइक बाढीले बगाएको हो ।वाणगंगा ९ साविक भलवाड जिल्लाको सुगम वडा भएपनि वर्षातको समयमा दुर्गमको रुपमा रहेको छ । बाढीको कारण विशेष गरेर सर्पले टोकेका बिरामी, गर्भवति महिलालाई समयमै अस्पताल पु–याउन नसक्दा औषधी उपचारको अभावमा अकालमा मृत्यु हुने गरेको छ।