पहिरो जाँदा पाल्पामा पाँच जना बेपत्ता, दुई घर पुरिए

image
बिहीबार, आश्वीन ८ २०७७

असोज, ८  पाल्पा । रम्भा गाउँपालिका – २ फोक्सिङकोटमा पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका छन्। फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

हुमबहादुर गाहाको परिवारमा सुतिरहेका पाँच जना बेपत्ता भएको स्थानीय पत्रकार एवतबहादुर सारुले बताए। बेपत्ता हुनेहरुमा एक जना पुरुष, २ महिला र २ बालिकाहरु रहेका छन्। बुधबार राति अविरल वर्षापछि बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो।

मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि भागेर ज्यान जोगाउन सफल भएको स्थानीय पत्रकार सारुले बताए। रम्भा गाउँपालिकाका प्रवक्ता कृष्ण प्रसाद रेग्मीले पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको बताए। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाल्पाको टोली गइरहको छ।