असोज, १३ काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंकले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति पर्खेको छ । राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्न वार्षिक साधारणसभामा पेश हुनेछ ।साधारणसभाबाट पारित भएपछि आईपीओ निष्कासनको प्रक्रिया अघि बढ्ने बैंकका डेपुटी सीईओ भुपेन्द्र पाण्डेले बताए । आईपीओ निष्कासनका लागि राष्ट्र बैंकको स्वीकृति कुरिरहेको उनले जानकारी दिए ।
राष्ट्र बैंकबाट स्वीकृति भएपछि साधारणसभामा पेश हुने छ । दशैं र तिहारका बीचमा साधारणसभा गर्ने तयारी बैंकको छ । ढिलोमा पुससम्म आईपीओ निष्कासन गर्ने तयार बैंकको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबर ८ करोड कित्ता आईपीओ निष्कासन गर्नेछ । बैंकले कर्मचारीलाई ०.२ प्रतिशत छुट्टाएको छ । पछिल्लो समयमा आउन लागेको यो नै सबैभन्दा ठुलो आईपीओ हो ।
सभाले आईपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी २० अर्ब रुपैयाँ पुग्ने छ । हाल १२ अर्ब रुपैयाँ चुक्तापुँजी रहेको छ । जलविद्युत, सडक, केवलकारलगायत ठुला उद्योगमा लगानी गर्नका लागि बैंकको स्थापना भएको हो । बैंकमा सरकारको १० प्रतिशत र बाँकी निजी क्षेत्रको लगानी छ ।