भदौ,१ वीरगञ्ज । बारामा दुई पक्षबीच झडप हुँदा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ ।सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका वासिन्दाबीचको झडप नियन्त्रणमा लिन हवाइ फायर गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।झडपका क्रममा चार जना प्रहरी र १२ जना सर्वसारधण घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ ।
कुलोमा माछा मारेको र डुबानको विषयमा भएको विवादले उग्र रुप लिँदा झडप भएको डीएसपी मिश्रले बताए । ‘गाउँ गाउँबीच नै आक्रमण र प्रतिकार शुरु भएछ, घरटहरा समेत भत्काउन शुरु गरेपछि जिल्लाबाट थप टोली गयौं ।६ सेल अश्रु ग्यास प्रहार गर्दा पनि झडप रोकिएन, १३ राउण्ड हवाई फायर गरेपछि बल्ल स्थिति नियन्त्रणमा आयो’ उनले भने ।स्थिति सामान्य भएपछि प्रहरी टोली फर्किएको छ ।