भदौ, १ सुर्खेत । कर्णाली प्रदेशका तीन जिल्लामा आजबाट निषेधाज्ञा जारी गरिएको छ । कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि प्रदेशको सुर्खेत, जुम्ला र मुगुमा जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।
स्थानीय प्रशासनले प्रदेशका केही स्थानमा यसअघि नै निषेधाज्ञा जारी गरिसकेका छन् भने प्रदेश राजधानी वीरेन्द्रनगरलगायतका कतिपय स्थानीय तहमा भने आजदेखि निषेधाज्ञा जारी भएको छ । सुर्खेतको वीरेन्द्रनगर, मुगुको गमगढी र जुम्लाको चन्दननाथमा आजदेखि निषेधाज्ञा लागू भएको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जुम्लामा यसअघि पनि पटक–पटक निषेधाज्ञा लागू गरिसकिएको छ । साथै रुकुम–पश्चिमको मुसिकोट नगरपालिकामा पनि बुधवारदेखि निषेधाज्ञा जारी भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगमा लकडाउन हटेसँगै बजारमा हुने अत्याधिक भिडभाड, नजिकिँदै गरेका चाडबाड र समुदायस्तरमा संक्रमण पुग्न थालेपछि निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।
‘समुदायस्तरमा संक्रमण देखिएपछि ‘कन्ट्रयाक ट्रेसिङ्ग’ गर्न कठिन भएको छ । नागरिकको अटेरीका कारण पनि जोखिम बढेको छ। त्यसैले निषेधाज्ञा जारी गर्नको विकल्प रहेन,’ उनले भने ।निषेधाज्ञा उल्लंघन गर्नेलाई स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने उनले बताए ।कर्णाली प्रदेशको केन्द्र वीरेन्द्रनगरमा आज बिहान ६ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
भेरीगंगा नगरपालिकाका बजार बन्द
कोरोनाको जोखिम बढेको भन्दै सुर्खेतको भेरीगंगा नगरपालिकाका क्षेत्रभित्र रहेका बजार पनि आजदेखि बन्द गरिने भएको छ ।
नगरपालिकाले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै आज साँझ ७ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म बजार क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।
यो अवधिमा भेरीगंगा नगरपालिका भित्रपर्ने छिन्चु, जहरे, झिङ्नी र रामघाट बजार बन्द रहने उपप्रमुख रेनु आचार्यले जानकारी दिइन ।
प्रदेश प्रवेश गर्ने नाकाहरूमा कडाइ
जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले प्रदेश प्रवेश गर्ने नाकाहरूमा कडाइ गर्ने निर्णय गरेको छ । पास बनाएर आएका व्यक्तिहरूलाई समेत पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।
प्रदेश भित्रिने मुख्य नाका सुर्खेतको बबई, कुइने, सल्यानको कालिमाटी, काल्चे र कपुरकोट लगायतका सीमा नाकामा पीसीआर रिपोर्ट हेरिनेछ ।
प्रदेशभरका मुख्य बजार क्षेत्रका होटल तथा रेष्टुरेण्ट पूर्णरूपमा बन्द गर्ने निर्णय पनि प्रदेश सरकारले यसअघि नै गरिसकेको छ ।
निषेधाज्ञा अवधिमा के–के खुल्छन् ?
निषेधाज्ञा अवधिभित्र स्वास्थ्य, सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल, तरकारीजस्ता अत्यावश्यक सेवा तथा व्यवसाय सञ्चालन गर्न पाइने छ ।त्यस्तै स्वास्थ्य संस्था तथा अत्यावश्यक सेवाका कार्यालयबाहेक बैंक, वित्तीय संस्था, सहकारी लगायतका सेवा बन्द हुनेछन् ।
निषेधाज्ञा अवधिभित्र दाहसंस्कार कार्यमा बढीमा १५ जना सहभागी हुन पाइनेछ भने धार्मिक, सामाजिक लगायतका जमघट गर्न पाइने छैन ।एम्बुलेन्स, शववाहन, दमकल, भीआईपीका झण्डासहितका गाडी, सुरक्षा, स्वास्थ्य, कूटनीतिक नियोगका सवारी साधन, प्रेस तथा सञ्चारकर्मीका सवारी साधन पनि निषेधाज्ञा अवधिमा चलाउन पाइने प्रशासनले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।