रुकुम घटनामा ज्यान गुमाएका युवाका परिवारलाई सरकारले १०/१० लाख दिने

image
मङ्गलबार, श्रावण २७ २०७७

गत जेठमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा भएको घटनामा मृत्यु भएका ६ जना युवाको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ आर्थिक सहायता दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थ तथा सूचना र प्रविधि मन्त्री युवराज खतिवडाले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ आर्थिक सहायता दिने र घाइते १२ जनालाई उपचारमा लागेको खर्च बराबरको रकम उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका छन् ।जाजरकोट र रुकुमको बीचमा पर्ने भेरी नदीको किनार, घटनास्थल। तस्विर प्रविर ददेल, राणा गाउँ, जाजरकोट

गत जेठ १० गते दलित युवाले कथित उपल्लो जातिकी केटी भगाउन खोजेको भन्दै गाउँलेले गरेको आक्र मणमा परि जाजरकोटको भेरी नगरपालिकाका नवराज विकसहित गणेश बुढामगर, सन्दिप विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीले ज्यान गुमाएका थिए ।

घटनामा पीडित परिवारले चौरजहारीका २० जना विरुद्ध किटानी जाहेरी दिएका छन् । चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बर मल्लसहित डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, वीरबहादुर मल्ल (युवतीका बुवा), प्रकाशी मल्ल (युवतीकी आमा) र युवतीलगायत २० जनाको नाममा मंगलबार जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दर्ता भएको छ ।