अबोध शिशुको नाममा ठूलो रकम जम्मा भएको खुलासा

image
मङ्गलबार, श्रावण २० २०७७

घटना यही साउन १२ गते सोमबारको दिनको हो । काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिएको समाचार सनसनी बनेर फैलियो ।कपन चौरमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश विदेशका मनकारी मनहरु तँछाडमँछाड गरेर ओइरिए । ब्यक्तिगत र सामाजिक संस्थाहरुबाट उनलाई आर्थिक सहयोगको ओइरो नै लाग्यो ।

तर यसभित्रको कहानी अलग्गै रहेको तथ्य विस्तारै खुल्न थालेको छ । शिशु बैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी कुनै महिलाले जन्माएको खुलेको छ ।यद्यपि काठमाडौंकै कुनै संस्थामा बसेकी ति महिलाको परिचय अहिलेसम्म गोप्य राखिएको छ ।

परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट हुन्छ । र उनैको मिलमतोमा साउन १२ गते नाटक मञ्चन गरी ति शिशुलाई कार्टुनमा राखेको खुलासा भएको छ ।कार्टुनमा शिशु भेेटिएको भनेर भ्रम फैलाउने केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले शिशुको नाममा सहयोग आएको केही रकम मंगलबार बिहान फिर्ता गरेकी छिन् । हालसम्म शिशुको नाममा ६ लाख रकम संकलन भएको तथ्य खुलेको छ ।

घटना उजागर भएलगत्तै केयर बालगृहका संस्थापक पुष्पा अधिकारी, ती शिशुकी आमा र सहयोगीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।