बाग्लुङ । बाग्लुङमा स्क्रब टाइफसका बिरामी फेला परेका छन् । बाग्लुङको धौलागिरि अस्पतालमा उच्च ज्वरो आएर उपचारका लागि आएका तीन जनामा स्क्रब टाइफस देखापरेको अस्पतालले जनकारी दिएको छ । स्क्रब टाइफस यही साउन महिनामा मात्रै तीन जनालाई फेला परेको धौलागिरि अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए।
बुधबार मात्रै उच्च ज्वरो आएपछि अस्पताल भर्ना गरिएको जैमिनी नगरपालिका–२ का ४२ वर्षीय पुरुषमा स्क्रब टाइफस देखिएको छ । उनी धौलागिरि अस्पतालमा भर्ना गरी उपचार गराइरहेका छन् ।
यस्तै साउन १० गते बाग्लुङ नगरपालिका–२ का एक र साउन १२ गते पर्वत जिल्लाको फलेवास नगरपालिका–३ का एक जनालाई स्क्रब टाइफस देखिएको थियो । अहिले उनीहरु निको भएर घर फर्किसकेका छन् । बाग्लुङमा गत वर्ष सात जनामा स्क्रब टाइफसका बिरामी फेला परेका थिए ।
स्क्रब टाइफस रोग ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीको सङ्क्रमणले लाग्ने गर्दछ । यो परजीवीलाई एक प्रकारको ‘माइट’ जातिको सूक्ष्म कीराले सार्ने गर्दछ । रोगको कीटाणु बोक्ने ‘माइट’ स–साना बोटबिरुवाको झाडीमा बस्छ । केही वर्षअगाडि सम्म स्क्रब टाइफस धेरैजसो पहाडी र दुर्गम स्थानमा मात्रै देखिँदै आएकामा पछिल्लो समय शहरी इलाकामा पनि देखिँदै आएको छ ।