मानव अधिकार आयोग : स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकलाई सम्मानजनक व्यवहार गरौं

image
सोमबार, भाद्र ८ २०७७

भदौ,८ काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई दुर्व्यवहार नगर्न अपिल गरेको छ ।आयोगका सचिव  वेद भट्टराईले सोमबार विज्ञप्ति जारी गरी जनस्वस्थ्य सङ्कटको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु अत्यन्त दुःखद् भएको बताएका छन् ।

यसप्रकारका दुर्व्यवहार तथा अमानवीय कार्यले जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्नसक्ने प्रति सचेत हुन र उनीहरुप्रति सहयोग र सम्मानजनक व्यवहार गरी नागरिकको कर्तव्य पालना गर्न आयोगले आग्रह गरेको छ ।

यस प्रकारका घटनाहरुको छानविन गरी दोषीउपर कानुनी कारवाही गर्न समेत आयोग स्थानीय प्रशासनलाई आग्रह गर्दछ । उच्च मनोबलका साथ कार्य गर्नुपर्ने पेशाकर्मीहरुको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने प्रकृतिका कार्यको पुनरावृत्ति हुन नदिन आयोगले सरकारलाई अपिल गरेको छ ।

हालै चितवनमा कोरोना संक्रमित चितित्सकको घरबाहिर स्थानीयले कोरोना संक्रमितको घर भनी ब्यानर टाँस्न खोजेका थिए भने काठमाडौंमा  निजामती कर्मचारी अस्पतालका चिकित्सकहरुमाथि पनि दुर्व्यवहार भएको थियो ।कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दी तथा काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाहरुमा लागू गरिएको निषेधाज्ञाको अवस्थामा आयोगले अनुगमन गरिरहेको जनाएको छ ।