साउन , २० पाँचथर । पाँचथर सदरमुकाम फिदिम बजार आएर घर फर्कदै गरेका फिदिम नगरपालिका ११ सेजेपाका ८२ वर्षीय हरिप्रसाद श्रेष्ठको पहिरोमा परी मृत्यु भएको छ । आइतबार बेलुका आफन्तकोमा बास बसेर बिहान घर जान भनि हिंडेका उनको सेजेवा भिरमा झरेको ढुङ्गाले लागेर मृत्यु भएको हो ।
पाँचथर प्रहरी प्रमुख सिद्धराज न्यौपानेले उनले ज्यान गुमाएको प्रकृति हेर्दा पहिरोमा परेको प्रारम्भिक अनुमाग गरेको बताए । उनको माथिबाट ढुङ्गा झरेर लागेपछि मृत्यु भएको हो । घटनाका विषयमा थप अनुसन्धान शुरु भएको उनले बताए । श्रेष्ठको शव पोष्टमाटमका लागि सदरमुकाम पठाइएको छ ।
अधिक वर्षाका कारण फिदिम नगरपालिका हुँदै बग्ने फेमे खोलामा आएको बाढीले विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ । आइतबार रातिदेखि सोमबार दिउँसोसम्म उक्त खोलामा आएको बाढीले फिदिम–फालोट सडकको फिदिम–नाङ्गिन जोड्ने फेमे खोला पुल जोखिममा परेको छ । बाढीका कारण २५ मिटर लम्बाइको पुलको पश्चिमपट्टिको जमिनको क्षेत्रमा क्षय हुँदा पुल जोखिममा परेको हो। मुख्य पिलर पछाडिको जमिन आधाभन्दा बढी भत्किएपछि पुल जोखिममा परेको हो ।
बाढीले उक्त पुल आसपासको क्षेत्र तथा फिदिम नगरपालिका–१ को मालबाँसेका विभिन्न स्थानमा पहिरो जाँदा फिदिम–फालोट सडक अवरुद्ध भएको छ । नगरपालिकाले पहिरो पन्छाउने प्रयास जारी राखेको छ । यस्तै फिदिम–७ मा पर्ने नाम्दु खोल्सामा पहिरो जाँदा फिदिम–रानीटार–लुङरुपा सडक अवरुद्ध बनेको छ । यहाँ पनि नगरपालिकाले स्थानीयवासीको सहयोगमा सडक खुलाउने प्रयास जारी राखेको छ ।
फेमे खोलामा आएको बाढीले फिदिममै पर्ने तीन वटा साना जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । बाढीले आयोजनाको पाइपलाइन बगाउँदा तीन वटै आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । बाढीले फेमे खोलाको तटीय क्षेत्रमा रहेको आयोजनाको पाइपलाइन बगाएको हो ।
बाढीबाट फेमे खोला साना जलविद्युत् आयोजना र बिके हाइड्रोपावरका दुई वटा आयोजनामा क्षति पुगेको पाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।बाढीले यी आयोजनाको करीब ७० मिटर पाइपलाइन बगाउनुका साथै कजवेमा क्षति पुर्याएको छ । क्षति भएका आयोजनामध्ये फेमे खोला साना जलविद्युत् आयोजना ९९८ किलोवाट तथा बिके हाइड्रोपावरका १५० र २४० किलोवाट विद्युत् उत्पादन बन्द भएको हो ।
बाढीले फिदिम नगरपालिका वडा नं। १, ७ र ११ मा पर्ने फेमे खोलाको तटीय क्षेत्रका केही घर जोखिममा पर्नुका साथै धान खेती र अलैंची बगानहरुमा क्षति पुर्याएको छ । फिदिम–११ का नवराज न्यौपानेका अनुसार बाढीबाट २० जनाभन्दा बढी स्थानीयको खेत तथा अलैंची बगानमा क्षति पुगेको छ ।
बाढीले तटीय क्षेत्रमा कटान गर्नुका साथै केही खेत तथा अलैंची बगान पुरेको छ । दर्जनौँ स्थानीयको खेतबारीमा क्षति पुगेपनि क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रनाउ न्यौपानेले बताए । प्रहरीले बाढी तथा पहिरोको जोखिममा रहेका परिवारहरुलाई सुरक्षित स्थानमा सर्न आह्वान गरेको छ ।कतिपय स्थानमा प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सक्रियतामा जोखिममा रहेका स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्ने कामसमेत शुरु भएको प्रनाउ न्यौपानेले जानकारी दिए ।