काठमान्डौँ – नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएको छ।
यदि कुनै पनि व्यक्तिको नाममा एउटै सेवा प्रदायकका दुई भन्दा बढी सिमकार्ड छन् भने आफूले प्रयोग नगर्ने सिमकार्ड बन्द गर्ने वा अर्काको नाममा नामसारी गर्नुपर्ने भएको छ।
यही असार १३ गते बसेको प्राधिकरण बोर्डले यस्तो निर्णय गरेको थियो। सोही निर्णयका आधारमा प्राधिकरणले आइतबार सेवा प्रदायकलाई पत्र काटेर यसबारे जानकारी गराउने तयारी गरेको छ।
यससँगै सेवा प्रदायकले एक जना व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड बिक्री गर्न पाउने छैनन् । हाल एउटै व्यक्तिले एउटा सेवा प्रदायकको धेरै सिमकार्ड लिने गरेका छन् । यसरी एउटै व्यक्तिको नाममा धेरै सिमकार्ड दिँदा दुरुपयोग हुनसक्ने भन्दै प्राधिकरणले यस्तो निर्णय लिएको बताइएको छ।
‘एउटै व्यक्तिको नाममा धेरै सिमकार्ड हुँदा त्यसको दुरुपयोग हुनसक्छ, दूरसञ्चार सम्बन्धी विभिन्न अपराधमा प्रयोग हुन सक्छ,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘त्यतिमात्र नभएर एउटा व्यक्तिको नाममा धेरै सिमकार्ड हुँदा स्वयम् व्यक्ति नै खतरामा पर्न सक्ने भएकाले त्यस्तो जोखिम रोक्न यस्तो निर्णय लिइएको हो।’
पछिल्लो समय सिमकार्ड व्यक्तिको आर्थिक कारोबारसँग पनि जोडिएर आउँछ। सिमकार्डबाटै बैंकिङ कारोबार, मोबाइल बैंकिङ लगायतका प्रणाली सञ्चालन हुने भएकाले पनि यस्तो खालको निर्णय आवश्यक रहेको प्रवक्ता अर्यालले बताए।
उनकाअनुसार नेपाल टेलिकमको हकमा एक जनाले अधिकतम दुई वटा सिमकार्ड र एउटा ल्याण्डलाइन लिन सकिनेछ । अन्य सेवा प्रदायकको हकमा भने एउटा व्यक्तिको नाममा दुई वटाभन्दा बढी सिमकार्ड लिन नपाउने प्रावधान राखिएको छ।
यो प्रावधान पुराना सिमकार्डको हकमा समेत लागु हुने उल्लेख गरिएको छ। पुराना प्रयोगकर्ताको हकमा समय सीमा तोकेर सेवा प्रदायकले यदि आफ्नो नाममा दुई भन्दा बढी सिमकार्ड भएको खण्डमा अर्को व्यक्तिको नाममा नामसारी गर्न निर्देशन दिनुपर्नेछ।
नाबालिकको हकमा भने एउटा मात्रै सिमकार्ड लिन पाइने छ। त्यसका लागि पनि अविभावकको नाता प्रमाणीत र अन्य आवश्यक कागजात उपलब्ध भएको खण्डमा मात्रै सिमकार्ड जारी गर्न सकिने बताइएको छ।
यसअघि प्राधिकरणले सिमकार्ड लिनका लागि सक्कली नागरिकता सहित व्यक्ति आफैं उपस्थित हुनुपर्ने प्रावधान लागु गरिसकेको छ।