साउन,२५ काठमाडौं । काठमाडौं उपत्यकामा जनस्वास्थ्यको मापदण्ड प्रभावकारी रुपमा पालना नभएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले देखाएको छ ।
३९ जना टोलीले दुई दिनसम्म तरकारी बजार, बैंक तथा वित्तीय संस्था, मालपोत, सार्वजनिक यातायात मठ मन्दिरलगायतका सार्वजनिक स्थलहरुमा अवलोकन विधिबाट अध्ययन गरेको थियो ।४५०२ जनामा अवलोकन गर्दा ७२.१ प्रतिशतले मास्क लगाएका थिए भने २७.१ प्रतिशतले मास्क लगाएका थिएनन् । मास्क लगाउनेमध्ये कपडाको मास्क १५.८ प्रतिशतले लगाएका थिए ।
मास्क लगाउने २७०३ मध्ये सही तरिकाले मास्क लगाउनेको संख्या ७२.६६ रहेको परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए । उनले भने, नाकमुनि वा चिउँडोमा मास्क लगाउने, घाँटीमा मास्क झुण्ड्याउने, हातमा झुण्ड्याउने वा मास्कको कडा भागलाई नाकको आकारमा नथिचेर लगाउनेको संख्या २७.३४ रहेको पाइएको छ ।’
तरकारी बजार, मल, बैंक, मालपोत, मठमन्दिर, होटलको अनुगमन गर्दा कमै स्थानमा मात्र भौतिक दुरी अर्थात २ मिटरको मार्किङ कमै स्थानमा मात्र गरिएको पाइएको छ ।
मार्किङ गरिएका स्थानहरुमा समेत ३१.२५ प्रतिशत स्थानमा मात्र भौतिक दुरी कायम भएको भेटिएको छ । साबुन पानी र स्यानिटाइजर लगभग ६० प्रतिशतमा मात्र थियो’ उनले भने ।
निजी र सरकारी अस्पतालहरुमा ओपीडी, फार्मेसी र किटक काउन्टरमा भौतिक दुरीका लागि मार्किङ गरिएको भेटिएको । तर कुनै पनि अस्पतालको चमेना गृहमा मार्किङ छैन । २० प्रतिशत अस्पतालमा मात्र भौतिक दुरी कायम भएको थियो’ सदस्य सचिव ज्ञवालीले भने ।
यस्तै ३० वटा सार्वजनिक यातायातको अनुगमन गर्दा ५० प्रतिशतभन्दा कम यातायातमा मात्र एक पङ्तिको एक सिटमा यात्रु बस्ने लगायतका मापदण्ड पालना भएको पाइएको छ ।
अध्ययन प्रतिवेदनको निष्कर्ष सुनाउँदै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. ज्ञवालीले भने, ‘जनमानसमा जनस्वास्थ्य मापदण्ड ‘एसएमएस’ प्रभावकारी ढंगबाट पालना भएको पाइएन । सार्वजनिक स्थलमा अनुगमन गर्न आवश्यक छ ।’