कांग्रेस नेता बस्नेतका पितामा मृत्युको ५ दिनपछि कोरोना पुष्टि, ठूलो संख्यामा रहेका मलामी खोज्दै प्रहरी

image
मङ्गलबार, श्रावण २७ २०७७

साउन , २७ काठमाडौं।बिहीबार राति निधन भएका खड्गबहादुर बस्नेतमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको रिपोर्टमा बस्नेतमा संक्रमण पुष्टि गरेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतका पिता ८४ वर्षीय बस्नेतको मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको हो ।

उनको त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको थियो ।लामो समयदेखि प्यारालाइसिसबाट पीडित उनको मृत्यु भएपछि अन्तिम दाहसंस्कार गृहजिल्ला सिन्धुपाल्चोकमा गरिएको थियो ।उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइए पनि कोरोनाको रिपोर्ट नै नआइ परिवारका सदस्यले शव गृहजिल्ला लगेका थिए।

बस्नेतको दाहसंस्कारका क्रममा ठूलो संख्यामा मलामी सहभागी थिए । धेरै संख्यामा मलामी भेला भएकाले कोरोना संक्रमणको त्रास बढेको स्थानीयको भनाइ छ ।एक स्थानीयले भने, ‘झण्डै १५ सयको हाराहारीमा मलामी भेला भएका थियौँ । उहाँमा कोरोना पोजेटिभको नतिजा आएपछि सिंगो जिल्लामै त्रास फैलिएको छ ।’