साउन,२६ काठमाडौं । गोंगबुमा सुटकेशमा भेटिएको शवको अनुसन्धानमा प्रहरीले छाटो समयमै सफलता हात पारेको छ ।प्रहरीले मृतकको पहिचान गर्नुका साथै हत्यामा संलग्न भइको आशंकामा एक महिलालाई चितवनबाट पक्राउ गरेको छ ।
आइतबार सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भेटेको थियो । तर मृतकको पहिचान नभएपछि फोटो सार्वजनिक गर्यो ।
त्यस आधारमा विभत्स हत्या गरिएका कृष्णबहादुर बोहोरा भएको खुल्यो ।प्रहरीले अपराध भएको घरमा बस्दै आएकी कल्पना शाहीलाई पक्राउ गरेको छ । चितवनको टाढीबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
९ महिनादेखि गेस्ट हाउसमा थिए बोहोरा
प्रहरी स्रोतका अनुसार कृष्णबहादुर पछिल्लो ९ महिनादेखि मित्रनगरस्थित एक गेस्ट हाउसमा बसेको खुलेको छ ।उनको कल्पनासँग लेनदेन सम्बन्धी विवाद पनि हुनसक्ने देखिएको छ । अनुसन्धान संलग्न अधिकृतहरुका अनुसार बोहोराले एकजनासँग ५० लाख रुपैयाँ लिनुपर्ने र उनलाई धेरै प्रयासपछि शनिबार भेटेको आफन्तसँग बताएका थिए । बोहोराले भनेको व्यक्ति तिनै महिला वा अरु कोही थिए भन्ने खुलेको छैन ।तर शनिबार शाहीले खानपिनका लागि बोलाएको र केही दिन नआउन सक्ने भन्दै होटलबाट निस्किएका थिए ।
प्रहरीले होटलबाट बोहोराको नागरिकता, एटीएम कार्ड लगायत पनि बरामद गरेको छ । महिला र बोहोराको सम्बन्ध लेनदेनको हो वा अन्य केही थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।प्रहरीका अनुसार शनिबार राति नै बोहोराको हत्यापछि शवलाई सुटकेश र झोलामा लगेर सडकमा फ्याँकिएको पाइएको छ ।महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।