साउन, २९ काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले सबै जिल्लाबाट जारी हुने प्रेस पास रद्द गरेको छ ।
कोरोनाभाइरसको उच्च जोखिममा परेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले जिल्लाबाट बाहिरिने र भित्रिने सवारी पास वितरण रोकेको जानकारी दिएको छ ।केही दिनयता कोरोना संक्रमितको संख्या बढेपछि गृहमन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै सवारी पास वितरण रोक्न निर्देशन दिएको थियो ।
यसको भोलिपल्ट काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्ण रूपमा बन्द गरेको जानकारी गराएको छ ।कार्यालयका प्रशासकीय अधिकृत कमल प्रसाद पाण्डेले बिहीबार सूचना जारी गर्दै काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको जानकारी दिएका हुन् ।
‘यस कार्यालयबाट काठमाडौं उपत्यका बाहिर जाने सवारी साधनको लागि जारी गरिँदै आएको सवारी पास साथै उपत्यका बाहिरका जिल्लाहरुबाट उपत्यका भित्रिनको लागि दिँदै आएको सवारी पास स्वीकृतिसमेत अर्काे व्यवस्था नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ’, प्रशासकीय अधिकृत पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ ।