साउन, ३० बुटवल । समुदाय स्तरमै कोरोना संक्रमण फैलिँदै गएपछि बुटवलमा लकडाउन गरिएको छ । गएरातिदेखि प्रदेश पाँचको राजधानी समेत रहेको बुटवल नगर क्षेत्रलाई पूर्ण रुपमा लकडाउन गरिएको हो । बुटवल उपमहानगरपालिका भदौ ५ गतेसम्मका लागि लकडाउन गरेको उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् ।पछिल्लो समय यहाँ टोल टोलमा कोरोना भाइरस संक्रमित भेटिन थालेका छन् ।
संक्रमणले भयावहको अवस्था आउने सक्ने आँकलन गरी पुनः बन्दाबन्दी गर्नुपरेको आचार्यको भनाइ छ । अहिलेसम्म बुटवल नगरमै कोरोना संक्रमित ५६ जना पुगेका छन् भने रुपन्देहीमा संक्रमितको संख्या ४०६ छ ।लकडाउनमा सार्वजनिक तथा निजी सवारी साधन पनि चलाउन पाइने छैन । तर, पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग समेत बुटवलमा जोडिएकाले मुख्य राजमार्गमा चल्दै गाडीहरुलाई बुटवलमा नरोकिकन जान दिइने छ ।
त्यस्तै तरकारी दूध बोकेका गाडीहरु परिचय पत्र लिएर मात्रै सञ्चालन गर्न पाइने छ । खाद्य किराना, डिर्पाटमेन्ट स्टोर, तरकारी फलफूलको बिक्री वितरण भौतिक दूरी कायम गरी विहान ७ देखि ११ बजेसम्म मात्र खोल्न पाइने छ । दूध डेरी भने बिहान ७ देखि ११ र साँझ ५ देखि ७ बजेसम्मका लागि खुल्ने समय तोकिएको छ ।
बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरुले तालिका बनाई उपमहानगरपालिको स्वीकृतिमा मात्र विहान १० देखि २ बजेसम्म मात्र खोल्न सक्ने नियम बनाइएको छ ।यसमा धेरैजसो सहकारीले भने लकडाउन अवधिभर कार्यालय बन्द गर्न थालेका छन् । विद्युत, खानेपानी सरसफाई सम्बन्धी सेवा र सोका लागि प्रयोग हुने सवारी साधनलाई भने छुट दिइने छ ।