अन्तेष्टि गरेपछि कोरोना पुष्टि, मलामी खोज्दै प्रहरी

image
सोमबार, श्रावण २६ २०७७

 साउन, २६ काठमाडौं । उच्च ज्वरो आएपछि मृत्यु भएका धनुषाका एकजनामा सद्गत गरिएपछि कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आएको छ।घरमै रहेका धनुषा ललियाका ५० वर्षीय बिन्देश्वर मण्डललाई उच्च ज्वरो आएपछि आइतबार उपचारका लागि जनकपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।

मृतकको स्वाब परीक्षण गरेर सोमवार रिपोर्ट आउँदा कोरोना पोजेटिभ पाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईले पुष्टि गरे । ‘मृत्युपछि स्वाब संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा रिजल्ट पोजेटिभ आएको छ,’ सीडीओ भट्टराईले भने, ‘मृतकको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’को काम समेत शुरू गरिएको छ ।’

मृतकको स्वाब दिएपछि आफन्त र गाउँलेले दाहसंस्कार गरेका थिए । ‘कन्ट्याक्ट ट्रेसिङ’का क्रममा प्रहरीले मलामीको खोजी गरिरहेको छ । मृतकको सम्पर्कमा आएका व्यक्तिको समेत छिट्टै स्वाब संकलन गरेर परीक्षण गरिने उनले बताए ।

धनुषाका एसपी रमेश बस्नेतले मृतक जनकपुरको विनय तारा फाउन्डेशन क्यान्सर अस्पतालका सुरक्षा गार्डमा कार्यरत रहेको जानकारी दिए ।विदामा घर गएको समयमा उनलाई पखला लाग्ने र ज्वरो आउने भएपछि अस्पताल लगिएको थियो । तर चिकित्सकहरुले अस्पताल ल्याउनु पूर्व नै उनको निधनको बताए ।मृत्युपछि प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्राविधिकले स्वाब संकलन गरेर दाहसंस्कारका लागि घर पठाएका थिए ।