साउन, २७ सप्तरी । भारतसँग सीमा जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२, लौनियामा मात्र ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । नजिकको भारतीय बजार कुनौलीमा आवतजावत गरेका कारण लौनियामा यति ठूलो संख्यामा सङ्क्रमित भेटिएको हो ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पछिल्लो पटक थप पाँच जनामा कोरोना सङ्क्रमण देखिएपछि लौनियामा सङ्क्रमितको संख्या ४२ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।तिलाठी कोइलाडी गाउँपालिका भरिमा भने १२ महिलासहित ८८ सङ्क्रमित छन् । सप्तरी जिल्लामा सङ्क्रमितको संख्या ६७ महिलासहित ५७६ पुगेको छ । सप्तरी जिल्लामै सबभन्दा बढी सङ्क्रमित भएको स्थानीय तहमा तिलाठी कोइलाडी दोस्रो स्थानमा छ ।
तिलाठी कोइलाडीमा भएका सङ्क्रमितको आधा संख्या लौनियामै छन् । लौनियाका पान पसले, चिया पसले, कपाल काटने ठाकुरसहित २५ जना सर्वसाधारणको साउन १८ गते एकै दिन सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि लौनियामा समुदायस्तरमै स्वाब सङ्कलन परीक्षण गरिएको थियो ।विषसेवनपछि गम्भीर अवस्था भएका लौनियाका ५० वर्षीय एक व्यक्तिलाई गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा उपचार भएको थियो । उपचारकै क्रममा उनमा साउन ९ गते कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमण पुष्टि भएको थियो ।
त्यसपछि ट्रयाकिङ र ट्रेसिङ गर्दै जाँदा उनको परिवारका पाँच जना, सम्पर्कमा आएका पुरुष र उनको उपचारमा संलग्न तीन स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको थियो ।खुला सीमानाका कारण भारतको कुनौली बजारमा लुकिछिपी आवतजावत गर्नेहरूका कारण गाउँ आक्रान्त बनेको भन्दै गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले अवस्था नियन्त्रण गर्न कुनौली नाकामा भइरहेको आवतजावतलाई रोकिएको बताए ।
गोरखापत्र दैनिकबाट