साउन,३ मकवानपुर। मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाका नागरिक नुनतेल जोहो गर्ने क्रममा बर्षेनी बढीले बगाएर र भिरबाट खसेर ज्यान गुमाउँदै आएका छन् । सो क्षेत्रका नागरिक नुनतेल जस्ता अति आवश्यक सामान किन्नका लागि १२ घण्टा पैदल जिल्लाको मनहरी बजार आईपुग्ने गरेका छन् ।
किनमेलका लागि आउने बाटोमा परेवा भिर छिचोल्नु पर्ने हुन्छ । बाटोमा पर्ने अन्य स्थानमा त जसोतसो आईपुग्छन्, तर परेवाभिर उनीहरुका लागि अभिसाप बनेर उभिएको छ । भिरको दुवैतर्फ सानो गोरेटोको ट्र्याक खोलिएको भएपनि भिर छिचोल्न सकिएको छैन ।यस विषयमा प्रदेश र संघीय सरकारलाई थाहा नभएको पनि होईन । राक्सिराङ गाउँपालिकाले प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाललाई परेवा भिरकै अगाडि राखेर पालिका अध्यक्ष राजकुमार मल्लले दुखेसो पनि पोखेका हुन् । भिर छिचोल्न ४ करोड मात्रै लाग्नेसहितको डीपीआर समेत पालिकाले बुझाएको थियो । तर प्रदेश सरकारले यस आर्थिक बर्षका लागि प्रस्तुत गरेको ५२ अर्ब बजेटभित्र यो विषय अटाउनै सकेन ।
अहिले पनि सर्वसाधारण सो भिर भएर कष्टकर पैदल यात्रा गर्न बाध्य भएका छन् । आजपनि भिरमा हिड्न सक्नेले पार गर्छन्, नसक्ने व्यक्ति भिरबाट खस्छन् र अनाहकमा ज्यान गुमाउँछन् ।सो परेवाभिरको समस्या समाधान गर्ने हो भने, मनहरीबाट धादिङको मलेखु ५२ किलोमिटरमा पुग्न सकिने र हालको मुग्लिङ, नौबिसे सडकको विकल्पको रुपमा समेत विकास हुने बताईएको छ ।पालिका अध्यक्ष राजकुमार मल्लका अनुसार भिर पञ्छाउन सकियो भने स्थानीयले बर्षेनी ज्यान गुमाउनु पर्ने थिएन र यहाँको कृषि उपज बजार पुर्याएर आर्थिक विकासमा समेत सघाऊ पुग्ने बताएका छन् ।