साउन,१४ काठमाडौं । काठमाडौंको कमलादीमा साढे १४ किलो चाँदी र आधा केजी सुन फ्याँकेर भाग्ने गाडीलाई समात्न नसकेको विषयमा अनुसन्धान गर्न प्रहरीले छानविन समिति गठन भएको छ ।
प्रहरी अधिकृतहरुबाट भएको कमजोरीको विषयमा छानविन गर्न महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापाको नेतृत्वमा समिति गठन भएको हो ।महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले प्रहरी अधिकारीमाथि प्रश्न उठेपछि छानविन समिति गठन गरिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘समितिले गाडी भाग्नुको कारण प्रहरीको कमजोरी मात्र देखायो भने त्यही अनुसार हुन्छ । कुनै नियत देखिए कारबाही हुन्छ ।’
समितिमा एसएसपी किरण बज्राचार्य, एसपी सोमेन्द्रसिंह राठौर, डीएसपी दुर्गा दाहाल र राजकुमार केसी छन् । अधिकृतहरुले पछ्याउन थालेपछि एउटा स्कार्पियो गाडी नरोकिइ कपडाको झोला फ्याकेर भागेको प्रहरीको भनाइ छ ।
त्यसक्रममा साढे १४ किलो चाँदी र आधा किलो सुन बरामद भएको थियो । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले मंगलबार पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराएका थिए ।
राजधानी जस्तो संवेदनशील क्षेत्रबाट गाडी उम्किन सफल हुनुमा सुरक्षा अधिकृतहरुको खोट रहेको दाबी सुरक्षा मामलाका जानकारहरुले गरेका छन् । तर, अनुसन्धान अधिकृतहरुले प्रयासका बाबजुद गाडीलाई नियन्त्रणमा लिन नसकिएको बताउने गरेका छन् ।